अभिनेता पल शाहलाई साढे दुई बर्ष जेल, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय।

नवलपुर := अभिनेता पल शाहलाई अदालतले बाल यौन दुव्र्यवहारमा साढे दुई वर्ष कैद,जेल सजाए सुनाएको छ । जबरजस्ती करणीमा सफाइ दिँदै नवलपुर जिल्ला अदालतले मंगलबार शाहलाई कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ । साथै पीडित नाबालिक गायीकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेको हो ।

शाहको पक्षमा सातजना वकिल र सरकारी वकिलका तर्फबाट तीनजना वकिलले बहस गरेका थिए । उहाँविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो । गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो ।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगौँडामा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेमजालमा पारेर करणी गरेको आरोप लागेको छ । शाहले १५ वर्ष नौ महिना ११ दिनकी किशोरीलाई प्रेमजालमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको थियो। पछि नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।