नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी।

काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार बलात्कारको आरोपसहित उजुरी परेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकका अनुसार एक किशोरीले लामिछानेविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको र पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको बताइएकाे छ।

प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बुझिएको छ।