चलचित्र ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने।

काठमाडौं := शुक्रबारदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन्। राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्।

आमा–सन्तानबीचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका आमाहरुका लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो। निर्माण पक्षले दिएको जानकारीअनुसार अष्टनारायण पिक्चर्स र शुभकामना हलले भने प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा–बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने छन्।

शुक्रवार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिवारबाट राम्रो पिकअप गरिरहेको छ। फिल्मलाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन्। त्यस्तै, अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसी मिलेको बताइन्।

अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन्। दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमवार चितवन पुगेकी छिन्। उनले त्यहाँ दर्शकसँग साक्षात्कार गर्नेछिन्। पारिवारिक दाउपेचको यो फिल्ममा केकी र आँचलका साथै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी लगायतको पनि अभिनय रहेको छ।