काठमाडौं := भारतमा पहिलोपटक हिन्दी भाषामा डबिङ गरेर प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘प्रेम गीत-३’ को ट्रेलर हरेर बलिउड अभिनेत्री मनिषा कोइरालाले राम्रो काम भएको बताउनुभएको छ ।
ट्रेलर हेरेर उहाँले भन्नुभयो, ‘वाऊ ! एक्सिलेन्ट, फेन्टाष्टिक गुड जब ।’ ‘प्रेम गीत-३’ भारतमा प्रदर्शन हुँदा नेपाली चलचित्रको ढोका खुल्ने उहाँको भनाइ थियो । ‘सबैभन्दा धेरै फाइदा प्रदीप खड्का र निर्देशक सन्तोष सेनलाई हुन्छ । त्योसँगै नेपाली चलचित्र क्षेत्रलाई हुनेछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि भारतीय वितरक र प्रदर्शकलाई पनि हुनेछ ।’
नेपाली चलचित्रले मेकिङमा पनि प्रगति गरेको भन्दै ‘प्रेम गीत-३’को स्टोरी, लोकेसन र भारतीय बजारमा प्रदर्शनका लागि स्थान पाएको भन्दै उहाँले भन्नुभयो, ‘अझै मिहिनेत गरेर नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाउन सक्नुहुन्छ ।’ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको ठूलो ढोका खोलेर अझै अगाडि बढाउन सक्ने पर्ने भन्दै उहाँले भन्नुभयो, ‘मैले मुम्बईमा के सहयोग कसरी गर्न सक्छु, म गर्नेछु । तपाईंहरूलाई मुम्बईमा वेलकम छ ।’
प्रदीप खड्का, सन्तोष सेनसँगै चलचित्र ‘प्रेम गीत-३’का भारतीय वितकले मनिषालाई ट्रेलर देखाउनुभएको थियो । प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेम गीत-३’ असोज ७ गते सार्वजनिक हुँदैछ । सन्तोष सेन निर्माता रहेको चलचित्रको निर्देशन सन्तोष स्वयं र छेतेन गुरुङले गर्नुभएको छ।




















