मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, पार्टी प्रवेश गर्ने तयारी।

जनकपुर := मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिवार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।

मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बन्नुभएका झा लगातार पाँच वर्ष यो पदमा रहनुभएको छ। जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्।

झालाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। झा महोत्तरी क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्।