एक जननिर्वाचित ‘कैदी’ सांसदको रोचक कथा, राष्ट्रिय दल बन्ने अठोट।

[ कमलराज भट्ट ] 

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रेशमलाल चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनको फराकिलो जितमा केही ठूला दलकै उम्मेदवारको जमानत जफत भयो । रेशम ७ भदौ २०७२ मा सातजना सुरक्षाकर्मी र एक बालक ज्यान जाने गरी भएको हिंसात्मक घटनासँग जोडिएर चर्चामा आएका पात्र हुन् ।

सञ्चारकर्मी, कलाकार, गायक, खेलाडी र थारू–अगुवा रेशमको परिचय उक्त घटनाबाट मुख्य अभियुक्तका रूपमा फेरिएपछि भूमिगत भए । दुई वर्षपछि भएको संघीय चुनावमा कैलाली १ बाट सर्वाधिक मतका साथ जितेपछि उनले १४ फागुन ०७४ मा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । उनलाई ३ वैशाख ०७५ मा राजधानीको डिल्लीबजार सदरखोरमा ल्याइयो ।

मंसिरमा सम्पन्न निर्वाचनको एक वर्ष रेशमले थुनामै बिताए । निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र संसद् सचिवालयमा बुझाएपछि २२ मंसिर ०७५ मा शपथको दिन जुर्‍यो । तर, सिंहदरबारमा सांसदको लोगो लगाएका रेशम रिहा हुन पाएनन् । शपथको तीन महिनापछि जिल्ला अदालत कैलालीले २२ फागुनमा जन्मकैदको फैसला गर्‍यो । एक वर्षपछि रेशम पुनरावेदनमा गए, तर उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गर्‍यो । मुद्दा पुनरावेदनका लागि सर्वाेच्चमा आएर हालसम्म विचाराधीन छ ।

जसरी अदालतमा मुद्दाहरू सर्दै गयो, त्यसैगरी रेशम लोगो बोकेर सदरखोरभित्र दिन बिताउँदै गए । यसबीच रेशमलाई छोड्ने प्रचार वेला–वेला नआएका होइनन् । तर, रिहा हुने आशमा कारागारको चार दिवारमा सीमित रेशमकोे कार्यकाल संसद्मा पाइला टेक्न नपाइसकिएको छ । टीकापुर घटनामा मुख्य अभियुक्त करार गरिएपछि रेशम भारत पसे । उनले लेखेको पुस्तक ‘बँधुवा कमैया’मा कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवाको थारू समुदायको घरमा बसेर चुनाव जितेको उल्लेख गरेका छन् ।

वारेसमार्फत उम्मेदवारी दिएका थिए । आफू उठेको चुनावलाई थारूहरूले अस्तित्वको लडाइँ बनाएको र आफूले भिडियो सन्देशमार्फत प्रचारमा सहयोग गरेको पुस्तकमा उल्लेख गरेका छन् । ‘जागो जागो थारू गोचाली हम्र हुइटी सक्कु नेपाली’ त्यतिवेला प्रयोग गरिएको लोकप्रिय गीत थियो । स्थानीयका अनुसार गीत र भिडियोसहित सामग्री हेरेर थारूहरू रोएर आँसु झार्थे । अन्ततः थारूहरू जागेर रेशमलाई पाँच वर्षका लागि संसद् पठाए । एमालेसहित ठूला दलको जमानत जफत भयो ।

शपथ लिँदाको अनुभूति 
तत्कालीन सभामुख कृष्णबहादुर महराले निर्वाचित भएको एक वर्षपछि २२ मंसिर ०७५ मा रेशम चौधरीलाई कृषि सहकारी समितिको हलमा शपथग्रहण गराएका थिए । शपथ लिँदा उनको मुद्दाको टुंगो लागिसकेको थिएन । शपथको खबर पाएपछि रेशमले आफू छुट्ने र संसद् टेक्न पाउने ठानेका थिए । तर, त्यसो भएन । शपथग्रहण र लोगो लगाइसकेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिइसकेपछि जब प्रहरी लिन आयो, उनी छाँगाबाट खसेजस्तै भए । जनप्रतिनिधिको लोगो बोकेर कारागार फर्किए । त्यो रात आफू पीडाले सुत्न नसकेको अनुभूति उनले सुनाउने गरेका छन् ।

शीर्ष नेताहरू कैलाली पुगेर रेशम चौधरी निर्दोष छन् भनिरहे, तर सत्तामा पुगेपछिछोड्न सकिँदैन भन्दै द्वैध चरित्र देखाइरहे

 

जेलजीवन र दैनिकी

बिहान व्यायाम गर्ने, दिनभरि कार्यकर्ता भेटिरहने र बेलुकी टेबलटेनिस खेल्ने उनको दिनचर्या हो । जेलका अन्य कैदीसँग घुलमिल नहुने, पढ्ने र लेख्नेमा उनी केन्द्रित हुन्छन् । उनले दिनमा औसतमा २० जना भेट्छन् । जसमा दलका शीर्ष नेता, सांसद, मन्त्री, कार्यकर्ता, कानुन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारणसम्म छन् । शीर्ष नेतामा केपी ओली र शेरबहादुर देउवाबाहेक आएको उनी सम्झिन्छन् । चुनाव घोषणापछि यो संख्या बढेको कारागारका सुरक्षाकर्मी बताउँछन् । उनलाई भेटेका शुभेच्छुकहरूका अनुसार रेशमले सांसद भएर जेलको चारवर्षे बसाइ झुर भएको बताउने गरेका छन् । आफू जेलमै भएर सांसद विकास कोषलगायत आउने विकासे योजना अन्यत्र गएको र टीकापुरको विकासमा समस्या भएको कुराले उनलाई झन् पिरोल्ने गरेको छ ।

उनले कारागारमै बसेर नौवटा पुस्तक लेखेका छन् । हालसम्म उनले १७ वटा पुस्तक लेखिसकेका छन् । पुस्तक बेचेरै रेशमले घरखर्च र कारागारमा आउने आगन्तुकलाई चिया खुवाउने स्रोतको जोहो गरिरहेका छन् । उनले कारागारमा बसेर ‘बाबु तिम्रो छोरा झ्यालखानामा छ’लगायत ७० भन्दा बढी गीत र कविता लेखेका छन् । उनका गीतमा सामाजिक अनुभवमा आधारित पीडा र न्याय खोजेको अनुभूति पाइन्छ ।

राजनीतिक नेतृत्वबाटै धोका 
टीकापुरका जनताबाट थारू समुदायको मुक्ति, न्याय र समृद्धिको म्यान्डेड बोकेर आएका रेशम आफैँ मुद्दा बन्न पुगे । उनी निर्वाचित भएपछि जिल्ला अदालतबाट दोषी करार गरियो । उनको रिहाइ र मुद्दा फिर्ता राजपाको म्यान्डेड बन्यो । पुनरावलोकनका लागि मुद्दा सर्वाेच्च अदालत पुग्यो । तर, राज्य सञ्चालन गरिरहेका शीर्ष दल र नेतृत्वले उनलाई राजनीतिक दाउपेचका रूपमा प्रयोग गर्‍यो । शीर्ष नेताहरू कैलाली पुगेर रेशम निर्दोष छन् भनिरहे, तर सत्तामा पुगेपछि छोड्न सकिँदैन भन्दै द्वैध चरित्र देखाइरहे । पछि मधेसकेन्द्रित दलले पनि उनको रिहाइ मुद्दालाई सत्तामा जाने बार्गेनिङका रूपमा उपयोग गरे । कारागारमा आफूलाई भेट्न आउने शुभेच्छुकलाई रेशमले मधेसकेन्द्रित दलले आफ्नो लागि केही नगरेको गुनासो सुनाउने गरेका छन् ।

चारवर्षे कारागारको बसाइमा रेशमको निष्कर्ष आफ्नो रिहाइका लागि ठोस पहल नभएको भन्ने छ । उनले लेखेका किताबमा प्रमुख दलहरूले आफ्नो रिहाइ नचाहेको उल्लेख गरेका छन् । रिहाइको सर्तसहित दलहरूले आफ्नो पार्टीमा प्रवेश गराउन प्रयत्न गरेको तर नमानेपछि ठूला दलबाटै अवरोध भएको उनको भोगाइ छ ।

 

अनि आफ्नै बाटो रोजे 
रेशम निर्वाचित भएको राजपा १० वैशाख ०७७ मा समाजवादी पार्टीसँग एकता भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, राजनीतिक घटनाक्रमले एकताको १६ महिनापछि जसपा ९ भदौ ०७८ मा विभाजित हुन पुग्यो । विभाजन हुँदा सनाखतका लागि सांसदको हस्ताक्षर संकलनका क्रममा रेशमलाई पनि निर्वाचन आयोग लगियो । तर, उनी कतैतिर खुलेनन् । ‘दल विभाजनका लागि म किन प्रयोग हुने भनेर कतैतिर लागिनँ । एकता हुँदा पो जुट्ने हो, फुटाउन किन जुट्ने ?,’ रेशम भन्छन् । विभाजनमा साथ नदिएका रेशमले आफ्नै दल बनाउने निष्कर्ष निकाले । १९ पुस ०७८ मा श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे ।

रेशमको जेल बसाइको एउटा रोचक किस्सा छ । त्यो हो, जसले उनलाई शपथ खुवाएका थिए, उनै व्यक्ति त्यही जेलमा आइपुगे । समाचारको हेडलाइन बन्यो, ‘शपथ खाने र खुवाउने एकै जेलमा ।’ तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको मुद्दामा १८ कात्तिक ०७६ मा पुर्पक्षका लागि थुनामा बस्न डिल्लीबजार कारागार चलान भएका थिए, जहाँ रेशम पहिल्यैदेखि थिए ।

 

थारू, मधेसी, मुस्लिम, जनजाति पिछडिएका विपन्न वर्गको मुक्ति र न्यायका लागि राजनीतिमा आएको रेशम बताउँछन् । न्यायको लडाइँमा जनताले आफूलाई विश्वास गरेको र अहिले विश्वास बढेर दलको रूप लिएको उनी बताउँछन् । श्रीमती रञ्जिताको नेतृत्वमा खोलिएको दलले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ठूला दललाई उनीहरूकै गढमा धुलो चटाउँदै अविश्वसनीय नतिजा ल्यायो । रेशम जितेको क्षेत्र कैलाली १ का टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भयो ।

रेशमको चुनाव जित्ने हतियार हो, सामाजिक सञ्जाल । त्यही सञ्जालले विगतमा टीकापुर घटना हुँदा भ्रम फैलिएर आफू परिबन्दमा परेको र अहिले चुनावी प्रचारमा सहयोगी बनेको रेशमले ‘बँधुवा कमैया’ पुस्तकमा लेखेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गीत र म्युजिक भिडियोको प्रयोग गरिएको थियो । गीतका शब्दहरू रेशमले जेलमा बसेर आफैँ कोर्छन् । ती शब्दहरू बाहिर पठाएर रेकर्ड गराउने र छायांकनसमेत गरी गाउँ–गाउँमा देखाइने गरिन्छ । जनतामा दलले बोकेको न्यायको एजेन्डा स्थापित गर्ने काम गीतले गरेको रेशमको अनुभूति छ ।

राष्ट्रिय दल बन्ने अठोट
स्थानीय तह निर्वाचनमा उत्कृष्ट नतिजा ल्याएको रेशमको दल नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय दल बन्ने अठोट लिएको छ । कारागारमा आफूलाई भेट्न आउने शुभेच्छुक तथा कार्यकर्तासँग उनले नवलपरासीभन्दा पश्चिमतिरका सबै जिल्लामा अवस्था हेरेर चुनाव लड्ने रणनीति सुनाउँछन् । समानुपातिकतर्फ १० लाख भोट कट्ने हिसाब रेशमको छ । रेशमको हिसाबअनुसार कैलालीको एक नम्बरसहित तीन क्षेत्रमा चुनाव लड्ने र जित्न सकिने आँकलन छ । आफू जितेको क्षेत्रमा रेशमले श्रीमतीलाई उठाउने तयारी गरेका छन् । त्यसैगरी कञ्चनपुरको १ र २ नम्बर क्षेत्रमा चुनाव लड्ने तयारी छ । त्यस्तै बर्दिया क्लिन स्विप गर्ने, बाँके, दाङ र नवलपरासीसम्म नौ सिटमा लड्ने योजना छ ।

०७४ मा कैलाली १ बाट भारी मतले निर्वाचित रेशम फेरि चुनाव लड्ने तयारीमा छन् । तर, तगारो बनेको छ कानुन । कानुनले उनलाई उम्मेदवारी दिने अनुमति दिँदैन । उनले भने आफ्नो मुद्दा विचाराधीन रहेकाले उम्मेदवारी दिन पाउने जिकिर गर्दै आएका छन् । बर्दियाबाट चुनाव लड्ने बताउँछन् उनी । आफ्नो दलका पदाधिकारीलाई रेशमले उम्मेदवारीमा कुनै कानुनी अड्चन नआउने जिकिर गर्ने गरेका छन् । तर, दुई अदालतबाट दोषी ठहरिएकाले अहिलेकै स्थितिमा उम्मेदवार बन्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले दिँदैन । ऐनमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

SOURCE :   NAYA PATRIKA DAILY