काठमाडौ:= सोमबार नेपाल आइपुगेको आइसिसी विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा सार्वजनिकीकरण गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा ट्रफी सार्वजनिकीकरण हुँदा ट्रफी हेर्नका लागि स्थानीय स्कुलका बालबालिकाहरूलाई उपस्थित गराइएको थियो ।
भक्तपुरका विभिन्न स्थानबाट ठूलो संख्यामा आएका विद्यार्थीले टाढैबाट भए पनि आँखा अगाडि विश्वकप ट्रफी देख्ने अवसर पाएका थिए । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गर्नुभएको थियो । स्थानीय धिमे बाजा र लाखे नाचका साथमा बाँसुरीको मंगल धुन बजाएर ट्रफी भक्तपुर नगर परिक्रमा गराइएको थियो ।

ट्रफीलाई बुधबार नै प्रधानमन्त्री कार्यालय पुर्याइएको थियो । प्रधानमन्त्री कार्यालय ट्रफी पुर्याएसँगै नेपालको औपचारिक कार्यक्रम समाप्त भएको छ । नेपालपछि ट्रफीलाई सिंगापुर लगिएको छ ।
मंगलबार बिहान सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका भए पनि खराब मौसमका कारण बुधबार बिहानसम्म पनि ट्रफीलाई उक्त स्थानमा लान सम्भव नभएपछि उक्त कार्यक्रम रद्द गरिएको थियो। मंगलबार गोक्यो पुग्न नसकेको ट्रफीलाई चन्द्रागिरिमा लगेर प्रदर्शन गरिएको थियो भने मंगलबार राति केही चर्चित व्यक्तिहरूमाझ एक होटलमा ट्रफी प्रदर्शनीमा राखिएको थियो ।

आइसिसी विश्वकप ट्रफी नेपालमा दोस्रोपटक आएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । अष्ट्रेलिया विश्वकपअघि विश्व भ्रमण गरिरहेको ट्रफीको उद्देश्य क्रिकेटप्रति लगाव बढोस् र क्रिकेट क्रेज थप वृद्धिहोस् भन्ने रहेको छ ।
विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । ट्रफीको भ्रमण जुलाई ८ देखि मेलबर्नबाट सुरु भएको थियो । अष्ट्रेलियाको सात शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




















