प्रशिक्षक अल्मुताइरीले नियम उल्लंघन गर्दा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना।

काठमाडौं := एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ । एएफसीको अनुशासन र आचार संहिता कमिटीले सोमबार दुई फरक नियम उल्लंघन गरेको आरोपमा ७ हजार डलर जरिबाना लगाएको एएफसीले जनाएको हो ।

एएफसीले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियम उल्लंघन गरेको घटनालाई आधार मान्दै ७ हजार अमेरिकी डलर दण्डित गरेको छ । यस्तै, खेल ढिला गरेकोमा नेपाललाई १ हजार अमेरिकी डलर जरिवाना तिराएको छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दुवै घटनाअनुसार ९० दिनभित्र एन्फाले १७ सय डलर जरिवाना तिर्नुपर्नेछ । बाँकी दुई वर्षको अवधिलाई तोकिएको छ ।

गत जेठ अन्तिम साता कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोट प्रतियोगिताका दौरान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए । लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए । एसियन फुटबल फेडेरेसन (एएफसी)को नियम उल्लंघन गर्दै अब्दुल्लाह नेपाली टोलीसँगै ‘ड्रेसिङ रुम’मा पुगे ।

यही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ । एएफसीले धारा २१.१ अनुसार नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको छ ।

दुई खेलमा पहेँलोकार्ड पाइसकेका मुख्य प्रशिक्षक अब्दुल्लाह  खेलाडीसँगै ड्रेसिङ रुमभित्र प्रवेश गरेपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई ६ हजार डलर जरिवाना तिराएको छ

इन्डोनेसियाविरुद्ध पहिलो हाफ १० खेलाडीमा सीमित भएपछि दोस्रो हाफको सुरुमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफ सुरु गर्न ढिला गरेको जनाउँदै एएफसीले नेपालमाथि अर्काे थप कारबाही गरेको छ ।

यद्यपि, एएफसीले एन्फालाई यस्ता प्रकृतिको घटना दुई वर्षभित्र नदोहोरिए सो रकम फेरबदल हुने जानकारी दिएको छ । कुवेत सिटीमा भएको खेलमा नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा कुवेतसँग ४–१ र अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।