आज तराईका भुमिपुत्र थारु समुदायले अटवारी पर्व मनाउँदै, के हो त अतवारी ?

कैलाली:= तराईका आदिवासी जनजाती भुमिपुत्र थारू समुदायले आज भदौ १२ गते विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। उक्त पर्व उनीहरुका लागि तीजजस्तै हो। शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ।

थारू अगुवाहरुका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ। ‘अटवारी पर्व तीजजस्तै हो, हाम्रो तीज फरक छ हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई ब्रत बस्छन्’। ‘थारू समुदायमा यो पर्वको विशेष महत्व छ।’

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ। आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए। ‘यो पर्वमा विशेषगरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ’, अगुवाहरुले बताउछन् , ‘यो पर्व तीन दिनसम्म मनाउँछौं।’

के हो अतवारी ?

थारु समुदायको प्रमुख चाड मध्येको एक हो, यो अतवारी पर्व। आइतबारका दिन पर्ने हुनाले यसको नाम अतवारी राखिएको हो । अतवारी पर्व खासगरी थारु पुरुषले व्रत बस्ने पर्व हो । यसअघिको कृष्णजन्माष्टमीमा महिलाहरुले ब्रत बस्ने गर्छन् भने अतवारीमा थारु पुरुषले । यद्यपि व्रत बस्ने काम स्वेच्छिक भएकाले कृष्णजन्माष्टमीमा पुरुषले पनि व्रत बसेको देखिन्छ । त्यस्तै, अतवारीमा केही महिलाले पनि व्रत लिने गर्छन् । थारु समुदायमा पुरुषलाई ‘थारु’ भन्ने प्रचलन छ । महिलाले आफ्नो श्रीमानलाई ‘थरुवा’ भन्ने गर्छन् ।

कसको पूजा हुन्छ ?

अतवारी पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्नेबारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसैगरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन् ।

भीमले थारु चेलीलाई ्एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले अतवारीमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनन्दिनको काममा सहयोग पुगेको तर्क छ ।

कसरी मनाइन्छ ?

अतवारी पर्वकालागि शनिबारको रात कुखुरा न बास्दै मध्येराती दर खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मिठा परिकारले दर खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन् ।
आइतबार विहानदेखि अतवारीमा व्रत बसेकाहरुका लागि विभिन्न थरिका रोटी, खुर्मा, फलफूल, सर्वत (पेय पदार्थ), अग्यारी (सल्लाको धुलो), काठ दाउरा तयारी गरिन्छ । मध्यान्हसम्म सबै परिकार तयार भएपछि व्रतालुहरु नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । त्यतिबेलासम्म घरका महिलाहरुले व्रतालु बस्ने ठाउँलाई गोवर पानीले लिपोट गरी चोखो बनाउँछन् । सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बस्न दिन्छन् ।

यसरी व्रतालुकालागि खाने परिकार र अन्य तयारी गर्ने महिलाहरु पनि व्रत बसेका हुन्छन् । सो काममा पुरुषले पनि महिलालाई सँगसँगै सहयोग गर्छन् । दोपहर धल्केपछि करिब दुई तीन बजेकोबीचमा व्रतालुहरुले सल्लाको धुपसहित आसन अगाडि राखिएको अग्यारी (अङ्गार) मा खानका लागि तयार पारिएका परिकारको केही भाग र सल्लाको धुलोलाई एउटैमा मिचेर चोखो पानीले पहिले अग्नी देवतालाई चढाएर पूजा गर्छन् । यसरी अङ्गारमा चढाइएको ती परिकारपछि आगोमा धुवाँको मुस्लो आउँछ । धुवाँ आएमा व्रतालु चोखो भएको आगो निभेमा जुठो भएको मूल्याङ्कन अरुले गर्छन् ।

आसन अगाडि राखिएको खानेकुरालाई एकभाग छुट्याई अग्नीदेवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून खान वर्जित गरिएको हुन्छ । पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन् ।

व्रतालुले छुटयाएको खानेकुराको एक भाग विवाहित चेलीबेटीलाई उपहारकोरुपमा प्रदान गरिन्छ । जसलाई थारुमा ‘अग्रासन’ दिने भनिन्छ । आइतबारको दिन त्यसरी पूजापाठ भएपछि सोमबार विहान व्रतालुले फलहार गर्छन् । रातभरी केही नखाई बस्छन् । सोमबार विहानैदेखि भान्सेहरुले विभिन्न खानेकृुराको परिकार तयार गर्छन् ।

व्रतालुहरु पुनः नदी तलाउको चोखो पानीमा विहानै नुहाई धुवाई गरेर पुनः अग्नीदेवता र खाने परिकारको अग्यारीमा चोखो पानीकासाथ पूजापाठ गरेपछि खाना खान्छन् । यसरी खाना खानुभन्दा अगाडि पाकेका सवै पाकवानको एक भाग चेलीबेटीकालागि छुट्याएर राख्छन् । सोहीदिन सोमबार नै सो वस्तुलाई अग्रासनकोरुपमा उपहार दिन विवाहित चेलीको घरमा घरका सदस्यहरु जान्छन् ।

 

पर्वको महत्वः

अतवारी पर्व नितान्त थारु समुदायको पर्व हो । यसमा गैर थारुहरुको कुनै चासो र संलग्नता देखिदैन । यस पर्वले घरका सदस्यहरुबीचको एकता, सामुहिकतालाई जोड दिन्छ । घरका सदस्यहरु मिलेर एक ठाउँमा बस्नु र सोहीअनुरुप पर्व मनाउनुले एकअर्काप्रति विश्वास बढ्ने विश्वास थारु समुदायको छ । समाजमा बसेपछि सबैसँग मिलेर बस्नुपर्छ, एकअर्कालाई प्रेम र सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास पर्वले गराउँछ । अर्थात् यस पर्वले सामाजिक महत्व बोकेको देखिन्छ ।

त्यस्तै, कृषि काममा प्राय व्यस्त रहने थारु समुदायका प्रतिनिधिहरुले बचेखुचेको समयमा धार्मिक काममा पनि विश्वास गर्छन् । काममा सधैं डपेटिरहनु भन्दा पनि शरीरको विश्रामकालागि यस्ता चाडपर्वले भूमिका खेल्ने गर्छन् । थारु समुदायका अधिकांशले हिन्दू धर्म मान्दैआएका छन् । यद्यपि अहिले कतिपयले थारु समुदाय बौद्ध धर्म मान्ने विश्वास गर्छन् ।

वौद्धधर्मप्रति थारु प्रतिनिधिहरुलाई उत्प्रेरित गरेको देखिन्छ । अतवारीजस्तै अन्य पर्वमा पनि भगवानको पूजापाठ गरी धर्मकर्म गर्ने र एकअर्काप्रति विश्वास कायम गर्ने काम गर्छन् । अतवारी पर्वले पनि सोही पक्षलाई जोड दिने भएकाले यसको धार्मिक महत्व छ भन्न सकिन्छ ।