क्वालालम्पुर ( मलेसिया ) वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा कार्यरत रहेका काभ्रेका एकजना नेपाली श्रमिकको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको महाभारत गाउँपालिका–१ गोकुले,धापका गंगालाल योन्जन रहेका छन्।
मलेसियाको पेनाङको झाई हाप हेंग ट्रेडिंग एसडीएन. बिएचडी. कम्पनीमा कार्यरत योन्जन राति सुतेकै ठाउँमा सुत्यासुत्यै अवस्थामा मृत्यु भएको भेटिएको हो । सुतेकै बेला अचानक मृत्यु भएकोले के कारणले कसरी मृत्यु भएको भन्ने बारे एकिन हुन नसकेको योन्जनका पारिवारिक स्रोतले जनाउनुभयो।
मृतक योन्जनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ । पोस्टमार्टम पश्चात् मृत्यु हुनुको कारणबारे पहिचान हुने स्रोतले बताउनुभयो।
योन्जनका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह समेत गरेको छ। आजभन्दा ८ वर्ष अगाडि योन्जन टाइसन मेनपावरबाट रोजगारीको सिलसिलामा मलेसिया काम गर्न आइपुगेका थिए।




















