प्रतिक्षित चलचित्र ‘परदेशी-२’अब भने फागुन ५ गते प्रदर्शन हुने।

काठमाडौं:= यो वर्षको प्रतिक्षित चलचित्र ‘परदेशी-२’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । यसअघि दशैँको छेको पारेर असोज १४ मा आउने भनिएको चलचित्र अब भने फागुन ५ गते प्रदर्शन हुने बताइएको छ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’ को प्रदर्शन मिति हेरफेरका लागि वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरूसँग सरसल्लाह भएको र फागुन उपयुक्त समय भएको निर्देशक रायमाझीले बताउनुभयो ।

चलचित्रका केही प्राविधिक कामहरू बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महसुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक रायमाझीले बताउनुभएको छ।

निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भन्नुभएको छ, ‘यसलाई सबैले सकारात्मकरूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।’

चलचित्र परदेशी-२ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको मुख्य भूमिका छ।