धनगढी (कैलाली):= सुदूरपश्चिमेली नेपाली समाज संस्था र धनगढी उपमहानगरपालिकामा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली बीचमा स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
देश तथा विदेशमा रहेका सम्पुर्ण सुदूरपश्चिमेली नेपाली समाज संस्थाका पदाधिकारी, सक्रिय सदस्यहरू र तिनका परिवारले निसर्ग हस्पिटलमा उपचार गराउन जादाँ उपचारमा लाग्ने खर्चमा केहि प्रतिशत छुट दिने सम्झौता भएको समाजले जनाएको हो।
आईतवार उक्त सम्झौता पत्रमा समाजका तर्फवाट कोषाध्यक्ष भुवन प्रसाद भट्ट र हस्पिटलका तर्फवाट अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका हुन्।
अस्पताल भर्ना भएमा बिरामीलाई सामान्य बेडमा र क्याबिनमा १५ प्रतिशत, आईसियू र एनआईसीयू बेडमा १० प्रतिशत, औषधी उपचारमा ५ प्रतिशत , एक्सरे , भिडियो एक्सरे, ईसिजी, टिएमटि, इन्डिोसकोपी चेकजाँचमा १० प्रतिशत , प्याथलोजी चेकजाँचमा २० प्रतिशत , ल्याप्रोसकोपी अप्रेसनमा ५ प्रतिशत , जरलन सर्जरी, अर्थोपेडिकमा साढे ७ प्रतिशत हस्पिटलले छुट दिने गरि सम्झौता भएको समाजका अध्यक्ष धन बहादुर बलायरले बताउनुभयो ।

यस्तै उपचार गराउदा ठूलो रकम खर्च भएमा किस्तामा ४५ दिन भित्र रकम भुक्तानी गर्न सकिने पनि हस्पिटलले सुविधा दिएको छ । यसका लागि बिरामीले संस्थाको पत्र र परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरूको साझा अभियान अन्तर्गत यस अघि पनि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा बझाङ र दार्चुला मा स्वास्थ्य समस्या प्रति केन्द्रित रही महिला हरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका थियो ।
निसर्ग हस्पिटलले पनि समय समयमा यस्ता शिविर तथा आर्थिक अबस्था कमजोर रहेका बिरामीहरुलाई सहुलियत रुपमा उपचार सेवा दिदै आईरहेको छ ।
निसर्ग हस्पिटल र सुदूरपश्चिमेली नेपाली समाज बिचको यस सम्झौताले सुदूरपश्चिमेली नेपाली समाज संग आबद्ध भएका सदस्य एवं वहाँका परिवारका लागि ठुलो सहयोग पुग्ने समाजका केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख एवं द एसिया संयोजक दिनेश खड्का’खप्तडी’ले बताउनुभयो ।




















