नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त।

काठमाडौं := सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको  बैठकले उनलाई पदबाट हटाएकाे हाे ।

यसअघि असार पहिलाे साता सरकारले उनलाइ निलम्बन गरेर छानबिन सुरू गरेकाे थियाे । छानविन समितिको प्रतिवेदनका आधारमा नै उनलाई आज बर्खास्त गरिएको हो ।

कानूनी आधार र औचित्यबिना नै नेपाल एयरलाइन्सकाे ट्वीनेटर विमान भाडामा दिएको, वायुसेवा निगमका टिकट मनलाग्दी बेचेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको लगायत विभिन्न आरोप  उनीमाथि लगाइएकाे थियाे ।

उनीमाथि लागेका आरोपकाे छानबिन गर्न समिति गठन गरेसँगै निलम्बनमा परे पनि अधिकारी सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पुनः काममा फर्किएका थिए ।