सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी।

एजेन्सी (खार्तुम):= संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरू दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरू आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरू नरहेकाले निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरूबाट प्राप्त सहयोगले मात्र दैनिक रूपमा चल्ने गरेकाले यहाँको अवस्था नाजुक बन्दै गएकाले यहाँका नागरिकहरूमा आन्तरिक रूपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ। जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसंख्या खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ ।

हाल सुडानमा आन्तरिक रूपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै संकट पर्दै जाने र विदेशी दाताबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार त्यहाँको चार करोड पाँच लाख जनसंख्यामध्ये एक करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरूको भनाइ छ ।