सप्तकोशीको बाढीले कैयौं गाउँ डुबानमा, विस्थापित २ हजार ४ सय परिवारको उद्धार।

उदयपुर:= उदयपुरको बेलका नगरपालिका-८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका-३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहकाहरुको खोजी भई रहेको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ । मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाइ रहेको छ। कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । बाढीबाट करिब २५ हजार मानिस प्रभाबित भएको उहाँको भनाइ छ ।

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका हुन् । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही वस्ती प्रभावित भएका हुन्। सप्तकोसीले धार परिर्वतन गरी आएको स्थान भनेको नदीको पुरानै स्थान हो। २०४५ सालको भूकम्पपछि सप्तकोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो ।

कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन् । कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभावित भएका छन । बाढीमा फसेकाहरूको उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भन्नुभयो, ‘साँझ सम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ ।’

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । वेलका नगरपालिका-८ डुम्रिबोटेबाट झण्डै २ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताउनुभयो ।

बेलका नगर प्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताउनुभयो । नगर प्रमुख कार्कीले भन्नुभयो, ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबानमा परेको छ । डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्बसाधारणलाई सुरक्षित स्थानमा ल्याउने काम भई रहेको छ ।

अबिरल वर्षातसँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा कटान गरी कोशी गाउँ पसेको हो । प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गईरहेको वडा नम्बर ३ का सदस्य फागुन कार्कीले बताए । अहिलेकै अवस्थामा कोशीको बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको नगर प्रमुख कृष्ण ढकालले बताउनुभयो । त्यसका लागि सर्तकता अपनाउन थालिएको उहाँको भनाइ छ ।

त्यसैगरी सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडा पनि प्रभावित हुने अनुमान गरिएको छ । बेलका नगरपालिका-३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन् । बेलका–३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बनाए पनि बाढीले कटान गरि कोसी गाउँ पसेको हो । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

डुबानबाट प्रभावित स्थानीयबासीहरूलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी ५ नम्बर गण रातमाटे, सशस्त्र प्रहरी बाहिनी अड्डाका विपद् जोखिम प्रतिकार्य टोली, नेपाली सेना लगायतले आ आफनो बोट लिएर उद्धारमा खटिएका छन् ।

डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्बाधाार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका सहायक रथि सन्तोषराज पाण्डे, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू बराह क्षेत्र, बेलका, कन्चनरुप र सप्तकोशी नगरपालिका नगर प्रमुखहरु समेतले स्थलगत अवलोकन गरेको छ ।

अबलोकनपछि प्रदेश १ का मन्त्रीद्धय, सुनसरी, मोरङ र उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको प्रमुख नगर प्रमुखहरुको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बेलका नगरपालिकामा बसेको थियो । बैठकले तत्काल बाढीमा फसेकाहरुलाई उद्धार र राहत उपलब्ध गराउने राहत उपलब्ध गराउदा एकद्धार प्रणालीबाट उपलब्ध गराउने निर्णय गरेको छ ।