ताइवान:= अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीनमा तरंग ल्याएको छ । सिंगापुरको भ्रमण सकेर मंगलबार ताइवान पुग्नुभएकी न्यान्सीको भ्रमणले चीन अत्यन्तै रुष्ट देखिएको छ । ताइवान पुग्नुभएकी सभामुख पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंसा गर्नुभएको थियो । त्यसअघि उहाँले ताइवानको संसद्मा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमध्ये पर्ने उल्लेख गर्नुभएको थियो ।
उहाँले अमेरिका र ताइवानबीचको संसदीय आदानप्रदान बढाउन चाहेको पनि बताउनुभयो । पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्नेसमेत बताउनुभएको थियो । पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची-चाङले स्वागत गर्नुभएको थियो ।
यसैबीच अमेरिकी सभामुख न्यान्सी पलोसीले पूर्वी एसियामा अस्थिरता फैलाउने उद्देश्यले गरेको भ्रमणको प्रतिक्रियास्वरूप चीनले विभिन्न कदम चालेको छ । चीनले अमेरिकासमक्ष कूटनीतिक स्तरमा भ्रमणको निन्दा गरेको छ । त्यसका साथै उसले सैन्य अभ्यास पनि थालेको छ । अभ्यासका क्रममा उसले आणविक वारहेडसमेत बोक्न मिल्ने क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको छ ।
तर, आणविक वारहेड नै उपयोग गरेको चाहिँ छैन। चीनले सैन्य अभ्याससँगै ताइवान टापुको आंशिक नाकाबन्दी गरेको छ । कम्तीमा पाँच दिन यस्तो नाकाबन्दी रहनेछ । ताइवानको हवाईक्षेत्रमा विमानहरू उड्न चीनले रोक लगाएको छ ।
अमेरिकामा बनाउन खोजिएको सिएटिएल ब्याट्री कारखाना लाई चीनले तत्कालका लागि रोकिदिएको छ । पाँच अर्ब डलर बराबरको उक्त कारखानाले अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने थियो । ताइवानतर्फ निर्यात गर्ने प्राकृतिक बालुवामा चीनले प्रतिबन्ध लगाएको छ । त्यो बालुवा सिमेन्ट र शीशा बनाउनका लागि उपयोग गर्ने गरिन्थ्यो ।
यस्तै ताइवानबाट चीनतर्फ निर्यात हुने विभिन्न वस्तुमा चीनले प्रतिबन्ध लगाएको छ । ताइवानका विभिन्न संस्थाहरूसँग सहकार्य गर्न चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध लगाइएको छ । अमेरिकाको अर्घेल्याइँमा चीनले जनाउने मुख्य प्रतिक्रिया आर्थिक क्षेत्रमा केन्द्रित हुनेछ । तर, वर्तमान घटनाक्रमले ताइवानका विषयमा निकट भविष्यमा युद्ध हुनसक्ने सम्भावना बढाएको छ ।
चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप-विदेशमन्त्री से फेङले पेलोसीको ताइवान भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको छ । उहाँले चीन चुप नबस्ने पनि बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन्।
पेलोसीलाई स्वागत गरेको ताइवानमाथि चीनले सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै सतर्कता अपनाइएको छ। ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् मंगलबार राती सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुग्नुभएको थियो । उहाँको भ्रमणलाई ह्वाइटहाउसले समर्थन गरेको छैन ।
तर, उहाँको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । ताइवान एउटा स्वशाशित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ। यता, पलोसी गरेको ताइवान भ्रमण विशुद्ध उत्तेजनात्मक गतिविधि भएको रुसले बताएको छ । मंगलवार रुसका राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले वासिंगटनसँग बेइजिङको विवादमा मस्कोले बेइजिङलाई पूर्ण समर्थन गर्ने बताउनुभएको थियो ।
‘हामी चीनसँग पूर्ण एक्यबद्धता व्यक्त गर्छौं,’ पेस्कोभले बताउनुभयो, ‘त्यस विषयमा चीनको संवेदनशीलतालाई बुझ्न सकिन्छ । त्यो जायज छ । अनि त्यसलाई सम्मान गर्नुको साटो अमेरिकाले भिडन्तको बाटो रोजेको छ । यसले सुखद भविष्यको संकेत गर्दैन । वासिंगटनको निर्णय निन्दनीय छ ।’
ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढेर युद्ध भएमा रुसले आफ्नो सीमा रक्षाका लागि आफ्नै सैनिक खटाउने पनि उहाँले बताउनुभएको छ । ‘उत्तेजनात्मक परिस्थिति उब्जिए पनि हाम्रो सम्पूर्ण सीमाको सुरक्षा हाम्रै सेनाले गर्नेछ,’ उहाँले भन्नुभएको छ ।
ताइवानले सन् १९४९ देखि आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्दै आएको छ । तर, हालसम्म विश्वका १४ देशले मात्रै यसलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएर कूटनीतिक सम्बन्ध बनाएका छन् ।
ताइवानको विदेश मन्त्रालयका अनुसार हालसम्म मार्सल टापुहरूसँगै नाउरु, पलाउ, टुभालु, इस्वाटिनी, होली सी, बेलिज, ग्वाटेमाला, हाइटी, होन्डुरस, पाराग्वे, सेन्ट किट्स र नेभिसको महासंघ, सेन्ट लुसिया र सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्ससँग कूटनीतिक सम्बन्ध छ ।
न्यान्सी पेलोसी अमेरिकी सिनेटकी सभामुख हुनुहुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकामा सभामुख तेस्रो उच्च पद हो । न्यान्सीको यो चौथो कार्यकाल हो । पेलोसी २५ वर्षयता ताइवान भ्रमण गर्ने उच्च अमेरिकी निर्वाचित अधिकारी हुनुहुन्छ । यसअघि सन् १९९७ मा तत्कालीन सभामुख न्यूट जिनरिचले ताइवानको भ्रमण गर्नुभएको थियो ।
ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता नदिएर चीनको अभिन्न अंग मान्नुपर्ने भनेर चीनले विश्वभर कूटनीतिक दबाब बढाइरहँदा पेलोसीको भ्रमणले चीन झस्किएको छ । चीनले अन्य देशले ताइवानलाई मान्यता नदिऊन् भन्ने चाहेको छ ।
यसअघि चीनले अमेरिकालाई ‘आगोसँग नखेल्न’ धम्की दिएको थियो । चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ खेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा थप गलत र खतरनाक बाटोमा नजान आग्रह गरेको छ ।
एजेन्सीको सहयोगमा ।