साउदी अरेबिया := वैदेशिक रोजगारीको निम्ति साउदी अरबमा काम गर्न गएका लाखौं नेपालीहरुमध्ये २०६ जना नेपाली श्रमिकको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा २०६ जना नेपाली श्रमिकहरुको मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम दाहसंस्कार सम्पन्न गरिएको जानकारी दूतावासले दिएको छ । त्यस्तै ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या गरेको कारण ज्यान गुमाएका हुन् ।
यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो भने एक जना नेपालीको भने हत्या भएको थियो ।