पोखरा:= सहारा क्लब पोखराले आयोजना गरेको गत संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा साढे १२ लाख रुपैयाँ घाटा भएको जनाएको छ । गत माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा आयोजना भएको २०औँ संस्करणको प्रतियोगिताको आयोजक सहाराले आयव्यय सार्वजनिक गरेको हो ।
क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले कोभिडका कारण प्रतियोगिताबाट सोचेअनुसार बचत गर्न नसकिएको बताउनुभयो । १९औँ संस्करणमा २२ लाख बचत भएकामा यसपटक भने १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ नोक्सान भएको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताबाट ६६ लाख ४१ हजार १८१ आम्दानी र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले विषम परिस्थितिका बाबजुद सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नु नै महत्वपूर्ण रहेको बताउनुभयो । कोभिडका कारण सेमिफाइनल र फाइनलबाहेक अन्य खेल दर्शकबिना नै खेलाइएको थियो ।
कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको थियो । सहारा एकेडेमीमा हाल विभिन्न १० जिल्लाका १३ जना विद्यार्थीहरू रहेका छन् । उहाँहरूको रेखदेखको जिम्मेवारी तथा लालनपालनको मुख्य जिम्मेवारी क्लबले यसै प्रतियोगिताबाट गर्दै आएको छ ।




















