धुर्मुस सुन्तलीको कारण क्रिकेट रंगशालाको हरिबिजोग, सरकारद्वारा समिती गठन।

भरतपुर:= धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला बनाउने आफ्नो जिम्मेवारीबाट पछाडि हटेपछि अलपत्र हरिबिजोग अवस्थामा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बाँकी काम गर्न नेपाल सरकारले प्राविधिक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको हो ।युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीका अनुसार शहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनियर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनियर राजु श्रेष्ठ सदस्य रहनुभएको छ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि उक्त समितिको सदस्य हुनुहुन्छ । समितिले अध्ययन गरी २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ ।

उक्त समितिको सिफारिशपछि युवा तथा खेलकुद मन्त्रालयले बाँकी काम अघि बढाउँदै स्वामित्व ग्रहण गर्ने जनाएको छ । समितिले रंगशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रंगशाला निर्माणका लागि तयार गरिएको संरचना, ड्रइङ, डिजाइन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ ।

यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमा समेत सिफारिश गर्नेछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्रिपरिषद्को निर्णय रंगशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात् मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ।’ रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभाव देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो ।

भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । रंगशाला निर्माणका लागि तीन अर्ब लाग्ने अनुमान गरिएको थियो ।

लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन् । अझै आठ महिनाभित्र काम सुरु हुन सकेन भने पिलरका रडसमेत काम नलाग्ने हुने रंगशालाको रेखदेख गर्दै आएका फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही बताउँछन्।

‘हामीले महानगरले औपचारीक रूपमा स्वामित्व नलिँदासम्मको लागि रेखदेख गरेका हौँ । निर्माणको काम त ठप्प नै छ । लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ’, उनले भने ।