बाबुराम भट्टराईको नयाँ पार्टी “नेपाल समाजवादी” निर्वाचन आयोगमा दर्ता।

काठमाडौं:= पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्व-विद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो । ‘समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ,’ आयोग स्रोतले भन्यो, ‘पार्टी झण्डा र छाप पनि फेरिएको छ ।’ चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ । यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवसँग मतभिन्नता बढेपछि असारको अन्तिम साता भट्टराईले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाउनुभएको थियो । सो बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो । त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगञ्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो ।

जसपा संघीय परिषद्बाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुट्नुभएको हो ।खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा केही समय पहिले दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् ।