काठमाडौं:= उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। उहाँले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिन अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याइने बताउनुभयो।
सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको उहाँको भनाइ छ । मन्त्री बडूले पुराना उद्योग पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने, सरकारको स्वामित्वका रुग्ण उद्योग निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरकारको स्वामित्वमा रहेका विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेका छन् । मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापारघाटा कम गर्न, आयात प्रतिस्थापन गर्न बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
मन्त्री बडूले भन्नुभयो, ‘सरकारले प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम र बजेट पास गरेको छ । सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने योजना छन् । स्वदेशी र विदेशी लगानीकर्ता नयाँ उद्योग खोल्न आकर्षित गर्न धेरै नीति तथा कार्यक्रम बनाएका छौँ ।
पुराना उद्योग पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र बन्द रहेका रुग्ण भएका सरकारी स्वामित्वका उद्योग चलाउने नीति सरकारको छ । त्यसमा जनकपुर चुरोट कारखाना पनि सरकारले चलाएर निकै नाम कमाएको उद्योग हो । उद्योग चलाउँदा पुराना मेसिन कति उपयोगमा आउन सक्छन् । सरकारले अध्ययन गर्नुपर्छ ।’




















