महिला युरो च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पुरा।

पेरिस:= फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । योसँगै महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग बुधबार राती प्रतिस्पर्धा गर्नेछ । अर्काे सेमिफाइनलमा इंग्ल्यान्ड र स्विडेनबीच मंगलबार राती प्रतिस्पर्धा हुनेछ । फाइनल ३१ जुलाईमा हुनेछ ।

फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभयो । १०२औँ मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी दिनुभएको थियो । जसमा पेरिसेटले गोल गर्नुभयो ।

यसअघि स्विडेनले बेल्जियमलाई स्तब्ध पार्दै महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको थियो । स्विडेनले बेल्जियमलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । इन्जुरी समयको अन्तिम समयमा लिन्डा सेमब्रान्टले निर्णायक गोल गर्दै स्विडेनलाई सेमिफाइनलमा पुर्‍याउनुभयो ।

त्यसअघि इंग्ल्यान्ड र जर्मनीले सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । अस्ट्रियामाथि सहज जित निकाल्दै जर्मनीले सेमिफाइनलमा स्थान बनाएको हो । जर्मनीले अस्ट्रियालाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा भएको खेलमा जर्मनीको जितमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गर्नुभएको थियो ।अर्को खेलमा इंग्ल्यान्डले स्पेनलाई अतिरिक्त समयमा २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।