दिलमाया सुनार हत्या आरोपमा पक्राउ परेका खिलबहादुर श्रेष्ठ कारागार,जेल चलान।

काठमाडौं:= नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) को हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९ असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुनारको हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँको गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जानकारी दिनुभयो ।

पक्राउ श्रेष्ठ मृतक सुनारको कोठामा विगत आठ महिनादेखि मृतककोे श्रीमान् हो भनी सँगै बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेर राय प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको प्रवक्ता मैनालीले बताउनुभयो ।