चलचित्र ‘म’को प्रचार शैलीः डिजिटल बोर्डदेखि मोटरसाइकल र्‍यालीसम्म।

काठमाडौं:= पछिल्लो समय नेपाली चलचित्रको प्रमोशनको शैली एउटै हुँदा दर्शकप्रति आर्कषण बढ्न सकेको छैन । फरक तरिकाको प्रमोशन गर्ने भन्ने विषयमा चलचित्रको निर्माण टिमहरू सोचिरहेका हुन्छन् ।

यसैबीच कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्र ‘म’ले प्रचारप्रचारमा फरक शैली अपनाएको छ । यही साउन २० गते प्रदर्शन हुने यस चलचित्रले काठमाडौंका चोकचोकमा दर्शकलाई ट्रेलर देखाउने नयाँ शैली अपनाएको छ ।

काठमाडौंका मुख्य–मुख्य चोकमा जाममा परेका आमजनतालाई लक्षित गरेर डिजिटल स्क्रिनमा ‘म’को ट्रेलर बजिरहेको देख्न सकिन्छ । यसअघि डिजिटल बोर्डमा फिल्मको पोष्टर देखिए पनि चलचित्रको प्रोमोसल ट्रेलर बज्नु नौलो सुरुवात हो ।

चलचित्र ‘म’को ट्रेलर कलंकी, कालिमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चावहिल, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बूढानीलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका ठूला स्क्रिनहरूमा बजिरहेको छ ।

यस्तै निर्माण टिमले आइतबार मोटरसाइकल ¥याली गरेको छ । सडकमा कसैलाई हानी तथा कुनै अवरोध नहुने तरिकालेएक सय बढी मोटलसाइकलले एकसाथ चलचित्रको नामसहितको टिसर्ट लगाएर काठमाडौं चक्रपथ परिक्रमा गरिएको थियो ।

चलचित्रका निर्माता प्रकाश पुरीले चलचित्रबारे जानकारी गराउन फरक शैलीको प्रसार अपनाएको बताउनुभयो । उहाँले आमदर्शक माझ चलचित्र प्रदर्शन हुँदैछ भनेर स्मरण गराउन सो प्रचार शैली अपनाइएको बताउनुभयो ।

सुवर्ण थापा निर्देशित यस चलचित्रका पुरी क्रियटिभ निर्माता हुनुहुन्छ । चलचित्रमा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ।