काठमाडौं:= नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राई नेपालका लागि बुधबार रजत पदक जित्न सफल हुनुभएको छ। उहाँले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताउनुभयो ।
आठ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्यान्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गर्नुभएको थियो । यसअघि फिटनेस फिजिकतर्फ १७० सेमिसम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लागि कास्य पदक प्राप्त गर्नुभएको थियो ।
तीन खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथ्लेटिक फिजिकमा सुजिता मानन्धरले छैटौँ स्थान हात पार्न सफल भएको व्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले माल्दिभ्सबाट जानकारी गराउनुभयो ।
खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई एक लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत व्यवस्थापक राजभण्डारीले बताउनुभयो ।
यसैक्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५औँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एसियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
प्रतियोगितामा भारतका एतिनदर सिंहले मि. एसियाको उपाधि जित्नुभएको छ । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको व्यवस्थापक राजभण्डारीले जानकारी गराउनुभयो ।


















