
एजेन्सी := अस्ट्रेलियामा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। संक्रमण दर बढ्न थालेपछि अस्ट्रेलियन सरकारले नागरिकहरुलाई घरबाटै काम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न सूचित गरेको छ।
प्रधामन्त्री एन्थोनी अलबानिजले ‘वर्क फ्रम होम’ सबैका लागि उपयुक्त नहुने भए पनि नागरिकको सुरक्षा प्राथमिकतामा राखिनुपर्ने बताएका छन्। उनले घरबाटै काम गर्ने विषय कम्पनी र कामदारबिचको विषय भएको भन्दै समझदारीमा काम गर्न उनले आग्रह गरेका छन्। अस्ट्रेलियाका चिफ मेडिकल अफिसर पउल केल्लीले भाइरसको चेन ब्रेक गर्न केही समय घरबाटै काम गर्नुपर्ने अवस्था आएको बताए।
‘ छोटो समयका लागि भए पनि हामीले केही त गर्नै पर्छ। म्याक्रो स्प्रेडिङलाई नियन्त्रण गर्न घरबाटै काम गर्नु उपयुक्त उपाय हो,’ उनले भने। प्रधानमन्त्री एन्थोनीले भने बुस्टर डोज लगाउन, सामाजिक दूरी कायम गर्न नसक्ने अवस्थामा मास्कको प्रयोग गर्न, बिरामी भए घरमै बस्न र प्रयोगका लागि योग्न भए एन्टी भाइरलको प्रयोग गर्न सल्लाह दिएका छन्।
Protect yourself, protect others.
1. Get your booster.
2. Wear a mask if you can’t socially distance.
3. Stay home if you’re sick.
4. Access anti-virals if you’re eligible. pic.twitter.com/6j8sZhnUuc— Anthony Albanese (@AlboMP) July 20, 2022
अस्ट्रेलियामा कोभिड १९ को बी.ए.४ र बी.ए.५ भेरियन्टका कारण संक्रमण दर बढेपछि अस्पतालमा बिरामीको चाप बढेको छ। दुई महिनायता अस्ट्रेलियामा सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। मंगलवार ५० हजार २४८ जनामा संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्।
हाल ५ हजार २३९ जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। ७ दिनयता ३ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको र नर्स र डाक्टरहरु नै संक्रमित र आइसोलेट हुनुपर्ने अवस्था आएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
अस्ट्रेलियाले गत वर्षमात्रै देशभर लगाएको प्रतिबन्धहरु फुकुवा गरेको थियो। लामो समयसम्म आफ्नो सीमा अन्तर्राष्ट्रिय पर्यटकका लागि बन्द गरेको अस्ट्रेलियामा पछिल्लो समय कोरोना फेरि बढ्न थालेपछि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।



















