आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुने निश्चित, सिट बाँडफाँट भने जटिल।

काठमाडौं:= सत्तारूढ पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर जाने संस्थागत निर्णय गरेसँगै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता निश्चित भएको छ ।

एक सातासम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत जनताका आकांक्षा सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

गठबन्धनबीच चुनावी तालमेलको सम्बन्धमा कांग्रेसले भनेको छ, ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठानिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने ।’ गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने कांग्रेसको निर्णयलाई सदस्य दलका नेताहरूले सकारात्मक भनेका छन् ।

कांग्रेसको निर्णय सही छ, गठबन्धन यताउता हुन्न : अध्यक्ष दाहाल ।

पाँच दलीय गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको प्रतिक्रिया दिनुभएको छ ।

मंगलबार सिंहदरबारमा अध्यक्ष दाहालले आफूहरू पनि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँदै भन्नुभयो, ‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ छैन ।’

गठबन्धन सबै दलका लागि आवश्यक : महासचिव भुसाल।

सत्तारूढ दलको एक घटक एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धन सबै दललाई आवश्यक रहेकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन कायमै रहने बताउँदै भन्नुभयो, ‘कांग्रेसको निर्णय स्वाभाविक छ। आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धन कायम रहन्छ ।

यो अहिलेको आवश्यकता हो । आन्तरिक पार्टी छलफलपछि गठबन्धनमा कुराकानी हुन्छ ।’ गत असार २३ मा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धनलाई प्रभावकारी बनाउन जोड गर्ने निर्णय गरेको थियो ।

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीको गत असार १३ र १४ गते बसेको राष्ट्रिय परिषद् बैठकले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको र राष्ट्रिय आवश्यकता भएको निष्कर्ष निकालेको थियो ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीको असार २९ र ३० गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

कसरी होला सिट बाँटफाँट ?

पाँच दलीय गठबन्धनमा रहेका सबै दल आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत देखिएका छन्। गठबन्धनको सम्बन्धनमा पाँच दलको समान धारणा आएपछि आगामी निर्वाचनमा कुनै अप्रत्याशित घटनाबाहेक वाम गठबन्धनको ढोका लगभग बन्द भएको छ ।

तर, पाँच दलबीच सिट बाँडफाँट भने जटिल छ । कांग्रेसको संस्थागत निर्णयसँगै अब सत्तासाझेदार दलहरूबीच सिट बाँडफाँटबारे छलफलको प्रक्रिया सुरु हुने बताइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ सिट छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रहेका १६५ सिटलाई गठबन्धनमा रहेका पाँच दलले बाँड्नुपर्ने हुन्छ ।

जसमध्ये हाल माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित ३६, कांग्रेसका २३, एकीकृत समाजवादीका १३, जसपाका १२ र जनमोर्चाका १ सांसद छन् । ती सिट आफूलाई सुरक्षित राखेर थप सिट बाँडफाँड गर्ने दलहरूका प्रारम्भिक प्रस्ताव हुने गठबन्धनका एक नेताले जानकारी दिनुभएको छ । गठबन्धनका कतिपय नेताहरूले सिट बाँडफाँटका केही सिद्धान्त प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस १०० सिट आफूले राखेर ६५ सिट गठबन्धनका सदस्य दललाई दिने पक्षमा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र डा.बाबुराम भट्टराईलाई समेत मिलाएर गठबन्धनभित्र उपगठबन्धन निर्माण गरी कांग्रेससँग ५०-५० प्रतिशत भाग लगाउने रणनीतिमा हुनुहुन्छ । सिट बाँडफाँटको अर्को सिद्धान्त २०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा ल्याएको दललाई सिट दिने रहेको छ । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो ।

त्यसबेला नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो । त्यो परिस्थितिमा माओवादीले ३६, नेपाली कांग्रेसले २३, जसपा (हालको उपेन्द्र यादव समूह)ले १०, बाबुरामको नयाँशक्ति र राष्ट्रिय जनमोर्चाले एक÷एक सिट जितेका थिए । अहिलेको सत्ता गठबन्धनमा नरहेको नेकपा एमालेले ८० सिट जितेको थियो । जसमध्ये प्रत्यक्षतर्फका १३ सांसद अहिले एकीकृत समाजवादीमा छन् ।

त्यो चुनावमा ६४ वटा सिटमा एमालेको उपविजेता नेपाली कांग्रेस थियो । यो सिद्धान्त लागू भए उपविजेताको हैसियतले कांग्रेसले ती ६४ सिटमा दाबी गर्नसक्छ । नेकपा एमालेले जितेका सिटमा गठबन्धनबीच कुन सिद्धान्तका आधारमा सिट बाँड्ने भन्ने टुंगो छैन । यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टीले जितेका १० र राप्रपा तथा नेमकिपाले जितेका २ सिट को टुंगो लगाउनुपर्ने हुन्छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सिट बाँडफाँटको विषय जटिल रहेको स्वीकार गर्दै भन्नुभयो, ‘वास्तविक रूपमा अबको निर्वाचनमा तालमेल कसरी गर्ने ? भन्ने जटिल विषय हो । गठबन्धन गर्दा स्थानीय तहमा भएका अनुभव, मत परिणाम, त्यसबेला उत्पन्न समस्या र चुनौती सबैलाई केन्द्रमा राखेर सिट बाँडफाँट गर्ने काम हुन्छ ।’

कांग्रेसको ध्यान अब सिट बाँडफाँटतिर

कांग्रेसले संस्थागत निर्णय नगरेकै कारण सत्तारूढ पाँच दलीय गठबन्धनमा बाँडफाँटको विषय औपचारिक रूपमा प्रवेश गर्न सकेको थिएन । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले निर्णय गरेपछि गठबन्धन दलबीच सिट बाँडफाँटबारे छलफल हुने जानकारी दिँदै भन्नुभयो, ‘सिट बाँडफाँटका विषयमा गठबन्धन दलबीच समझदारी जुटाउन यसअघि गठित कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र नै सक्रिय हुन्छ ।

अब शीर्ष तहमा यस विषयमा छलफल सुरु हुन्छ ।’ कांग्रेसका अधिकांश नेता प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्न नहुने भन्दै अनौपचारिक संवादमार्फत सभापतिलाई दबाब दिइरहेका छन्। माओवादीभित्र भने प्रतिनिधिसभामा कम्तीमा प्रत्यक्ष ५० सिट लिनुपर्ने अडान छ ।

त्योभन्दा कम सिट लिए निर्वाचनमा कमजोर परिणाम आउन सक्ने भन्दै माओवादीले सकेसम्म धेरै सिट लिने गरी कांग्रेससँग वार्तामा बस्ने तयारी गरेको छ । गठबन्धनका अन्य दलहरूले पनि सम्मानजनक हैसियत हुनुपर्ने अडान राख्दै आएका छन् ।

बाबुराम भट्टराईले गठबन्धन नछाड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराई सत्तारूढ गठबन्धनमै रहने बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा डा. बाबुराम भट्टराईसँग करिब १ घण्टा छलफल गरेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ ।

जसपाबाट अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिनँ भन्नुभएको छ ।’ जनता समाजवादी पार्टीले संघीय परिषद् अध्यक्ष रहनुभएका डा. भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ । डा. भट्टराई पक्षको भेलाले पनि पार्टी पुनर्गठन गर्ने निर्णय गरिसकेको छ ।

नेकपा कालका सचिवालय सदस्य छलफलमा
कांग्रेसले आगामी निर्वाचनमा पनि वर्तमान पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भोलिपल्ट मंगलबार समाजवादी केन्द्र निर्माण गर्ने प्रयासस्वरूप तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल भएको हो ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल समाजवादी केन्द्र निर्माण गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । बैठकमा विचार मिल्नेसँग एकताको सम्भावनाबारे छलफल भएको, आपसमा मिल्ने र कांग्रेससँगको गठबन्धन पनि कायम राख्ने निर्णय भएको नेताहरूले जानकारी दिनुभएको छ । गत असार १९ गते पनि पाँच नेताबीच छलफल भएको थियो ।