एआईजी पोखरेलले दिए राजीनामा, मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी।

काठमाडौं := नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन्। सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् ।

महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षकका विषयमा परेका सबै रिट एकचौटि खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उनी सेवाबाट बिदा भएका छन् ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।

तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।