जापानका पूर्वप्रधानमन्त्री मृतक सिन्जो आबेको अन्त्येष्टि सम्पन्न।

एजेन्सी (टोकियो):= चुनावीसभालाई सम्बोधनका क्रममा बन्दुकधारीको गोली प्रहारबाट मृत्यु हुनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार जापानको टोकियोमा अन्त्येष्टि गरिएको छ ।

गत शुक्रबार खान्साई क्षेत्रको नारा शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते आबेको उपचारका क्रममा मृत्यु भएपछि शनिबार उहाँँको शवलाई टोकियोस्थित निवास ल्याइएको थियो ।

यसअघि आबेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि जोजोजी मन्दिरमा राखिएको थियो । अन्त्येष्टिमा परिवारका सदस्यहरू र उनीहरूसँग घनिष्ट सम्बन्ध भएका सम्बन्धित पक्षसहित प्रधानमन्त्री किशिदा, लिबरल डेमोक्रेटिक पार्टीका महासचिव मोतेगीलगायतको उपस्थिति थियो ।

आबेको हत्यामा संलग्न रहेका ४१ वर्षीय आक्रमणकारी पक्राउ परिसकेका छन् । आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य भएको भनिएको छ । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा शहरका बासिन्दा हुन् ।

आक्रमणकारीले घरेलु बन्दुकले गोली हानेको बताइएको छ । आबेले दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय प्रधानमन्त्री बनेर देशको सेवा गर्नुभएको थियो । उहाँँ जापानको सबैभन्दा प्रभावशाली राजनीतिज्ञका रूपमा चिनिनुहुन्थो ।