मुम्बई (एजेन्सी):= बलिउड चलचित्र ‘शमशेरा’ आगामी २२ जुलाईमा प्रदर्शन हुँदैछ । चलचित्रमा रणवीर कपुरको मुख्य भूमिका छ भने रणवीर पहिलोपटक डबल रोलमा देखिँदै हुनुहुन्छ।
‘चकलेटी ब्वाई’को भूमिकामा दर्शकले रुचाएका रणवीरको यो चलचित्रमा लुक अहिले चर्चाको विषय बनेको छ बलिउडमा । चलचित्र प्रमोसनमा लागेका रणवीरले सुटिङका क्रममा भोग्नुपरेका किस्सा सुनाउनुभएको छ। एक अन्तर्वार्तामा रणवीरले आफूले चलचित्रको सुटिङको क्रममा दिनमा २० पटकसम्म पनि नुहाउनुपर्ने बाध्याता आएको बताउनुभएको छ।
रणवीरका अनुसार निर्माण टिमले छायांकनको बेला सेटमा दैनिक १० देखि १५ किलो धुलो राख्ने गरेको स्मरण गर्दै उहाँले भन्नु भयो, ‘छायांकन सुरु हुँदा उक्त माटोको धुलो उडाउन सुरु गरिन्थ्यो । त्यो माटो रणवीरको आँखा, कान र मुखमा जान्थ्यो । कहिलेकाहीँ संवाद पनि बोल्न गाह्रो हुन्थ्यो ।’ घरमा गएर कम्तीमा २० पटक नुहाउँदा पनि धुलो पूरै निस्कन गाह्रो भएको उहाँँले स्मरण गर्नुभएको छ।
धुलोको समस्याले धेरै दिक्क हुनुभएका उहाँले मनमै निर्देशकलाई गाली गर्ने गरेको समेत बताउनुभयो । तर, अहिले जब सुटिङ सेटमा गरेको मिहिनेतलाई पर्दामा हेरिरहनु भएको छ । उहाँले आफ्नो र सम्पूर्ण टिमको प्रयास साकार भएको महसुस गर्नु भएको छ । यस चलचित्रमार्फत रणवीरको सञ्जय दत्तसँग पूरै चलचित्र खेल्ने पहिल्यैदेखिको सपना पूरा भएको छ।
यसअघि चलचित्र ‘सञ्जु’को एउटा गीतमा सञ्जय दत्तसँग रणवीरले काम गर्नुभएको थियो । तर पूरै चलचित्रमा भने काम गर्ने मौका पाउनु भएको थिएन । यशराज फिल्मस्ले निर्माण गरेको चलचित्र ‘शमशेरा’ करण मलहोत्राले निर्देशन गर्नु भएको हो । चलचित्रमा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको छ।




















