श्रीलंका​मा जनताद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिने।

एजेन्सी (कोलम्बो):= अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने हुनुभएको छ । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।

यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भाग्नुभएको थियो । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् ।

‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै भनेको छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए ।

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।