रुसले युक्रेनको पूर्वी शहर एकपछि अर्को गरि नियन्त्रणमा लिँदै।

एजेन्सी (मस्को) := रूसले युक्रेनका विभिन्न क्षेत्र नियन्त्रणमा लिदै गइरहेको छ । यस्तैमा पछिल्लो समय लुगान्सक क्षेत्र रूसको नियन्त्रणमा गएको छ । रूसी सेनाले सम्पूर्ण लुगान्सक क्षेत्रलाई नियन्त्रण लिएको हो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रामक बनाउन आदेश दिनुभएको छ । ‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोइगुलाई भन्नुभयो । ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्सकमा भएको छ’, पुटिनले भन्नुभएको छ ।

सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रूसी सेनाले लुगान्सक क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताउनुभएको थियो । लुगान्सक क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ । यस्तै रुसले युक्रेनको पूर्वी शहर लिसिचान्सकमा पनि पूर्णरूपमा कब्जा गरेको छ ।

विगत चार महिना भन्दा बढिको समयदेखि जारी रुस–युक्रेन युद्धमा रूसले युक्रेनको महत्वपूर्ण सहर लुहान्सक शहरमा पूर्ण कब्जा गरेको छ भने स्लोभिनस्क सहरमा जारी भारी गोलिबारीमा परी ६ जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा लुहान्सक र दोनेत्सक मिलेर डोन्बास औद्योगिक क्षेत्र बनेको हो । जुन युक्रेनको निकै महत्वपूर्ण औद्योगिक क्षेत्र मानिन्छ ।

रूसले आक्रमण सुरु गर्नुअघि नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्सक र दोनेत्सकलाई स्वतन्त्र देशको मान्यता दिनुभएको थियो । एक साताअघि मात्र रूसी सेनाले भारी बमबारीका कारण भग्नावशेषमा परिणत भएको शहर सेभेरोडोनेत्सकलाई कब्जामा लिएको थियो ।

पछिल्लो समय पूर्वी युक्रेनमा आफ्नो आक्रमणलाई केन्द्रित गरिरहेको रूसले लुहान्सक पश्चात स्लोभीन्सक शहरमा आक्रमण तीव्र बनाएको छ । रूसले गत फेब्रुवरीदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रूपमा विश्वभरि नै असर परेको छ ।