नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ६४औँ वार्षिकोत्सव सम्पन्न।

काठमाडौं:= नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६४औँ वार्षिकोत्सव मनाएको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ वेबसाइटको शुभारम्भ गर्नुभएको थियो ।

उक्त वेबसाइटमार्फत् निगमको अनलाइन टिकट बुकिङ सहज हुने निगमले जनाएको छ ।नयाँ वेबसाइटमा च्याटबक्सको समेत सुविधा रहेकाले यात्रुले आफ्नो जिज्ञासा, गुनासो राख्न सक्नेछन् । वेबसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्ने निगमले जनाएको छ।

सो अवसरमा निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगमका आगामी चुनौती सामना गर्दै अघि बढ्न सबैको सहयोग र सहकार्य आवश्यक हुने बताउनुभयो ।

सो अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तरकर्पोरेट फुटसल प्रतियोगितामा निगमका विजेता खेलाडीलाई उहाँले सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए ।