फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले लिए पदको शपथ।

एजेन्सी (फिलिपिन्स):= फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले पदको शपथ लिएका छन् । मार्कोसले निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा शपथ लिएका हुन् ।

बोङबोङ उपनामले चिनिने ६४ वर्षीय मार्कोसले प्रतिष्पर्धी लेनी रोब्रेडोलाई पराजित गरेसँगै ३६ वर्षपछि फिलिपिन्सको सत्तामा पूर्व तानाशाह मार्कोसको परिवार पुगेको हो। सन् १९८६ को जनविद्रोहपछि पदच्युत गरिएका तानाशाह मार्कोसका छोरा मार्कोस जुनियर निवर्तमान राष्ट्रपति डुटेर्टेसँगको सहकार्य मार्फत् फिलपिन्सको सत्तामा पुगेका हुन् ।

यसैगरी, उपराष्ट्रपतिमा निर्वाचित निवर्तमान राष्ट्रपति डुटेर्टेकी छोरी सारा डुटेर्टेले पनि शपथ लिएकी छिन् । मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा आयोजित कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी सहभागी भएका थिए । सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका उनका बुबा फर्डिनान्डले सैनिक कानुन लागू गरी सत्तामा बसेका थिए ।

त्यसक्रममा उनको नेतृत्व अवधिमा देशभरि मानवअधिकारको चरम हनन र भ्रष्टाचार भएको थियो । जनविद्रोहबाट लखेटिएका बोङबोङसहित मार्कोस परिवार देश छोडेर अमेरिकाको हवाई गएर बसेका थिए । लामो समय राजनीतिमा रहेका उनी सन् १९९१ मा फिलिपिन्स फर्केर फेरि सत्तामा फर्कने मौकाको खोजिमा थिए ।

त्यही क्रममा यस पटक भएको निर्वाचनमा सामाजिक सञ्जालको व्यापक अभियान चलाएर उनले आफ्नो बाबुले गरेको अत्याचारबारे अनभिज्ञ युवा मतदातालाई आफूतिर आकर्षित गराउन सफल भएका थिए । त्यसक्रममा उत्तरी फिलिपिन्सको मार्कोस र दक्षिणी मिन्डानाओ टापुका डुटेर्टेको दुई सम्भ्रान्त परिवारले राजनीतिक शक्ति संयोजन गरी आफ्नो जीत सुनिश्चित गराएका हुन् ।

लागू औषधविरोधी अभियानका नाममा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप निवर्तमान राष्ट्रपति डुटेर्टेलाई पनि लाग्दै आएको छ ।