काठमाडौं:= डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा रोजरिङ टिमले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फष्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेण्ड रनरअप भयो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।
एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट हुनुभयो। उहाँले शोको आगामी सिजनमा स्टारको रूपमा प्रतिस्पर्धा गर्ने मौका पाउनुभएको छ । गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए।
गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो। विजेता बनेसँगै छिरिङले शेर्पा समुदायमा डान्स विधामा रुचि राख्नेका लागि डान्स कक्षा सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज शेर्पाहरूले हिमालमात्रै चढ्दैनन् भन्ने प्रष्ट भएको छ । अब मेरो समुदायका लागि डान्स क्षेत्रबाट केही गर्ने सोंच बनाएकी छु ।’ साथै छिरिङका कोरियोग्राफर सरोजले पनि छिरिङ र आफ्नो डान्सको तालमेल मिलेको कारणले आफूहरू विजेता बन्न सफल भएको बताउनुभयो ।
डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गर्नुभएको हो । यसअघि यही शो डान्सिङ विथ द स्टार्स फ्रेन्चाइज थियो । अमेरिकाबाट अनुमति लिएर पहिलो सिजन सम्पन्न गरिएको थियो भने दोस्रो सिजनमा अनुमति रद्ध गरेर डान्सिङ स्टार्स नेपाल नाम राखिएको थियो ।
कार्यक्रमभित्रको फर्मेट सबै उस्तै थियो । विदेशी डान्सहरूलाई समेट्नुपर्ने भएकाले नेपाली पन झल्काउन नसक्ने देखिएपछि फ्रेन्चाइज छाडिएको निर्देशक पौडेलले जानकारी दिनुभएको छ।