बारामा एकै घरबाट लाखौंको सुनका गहना चोरी।

बारा:= बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।

घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिनुभयो । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उहाँले बताउनुभयो ।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले जानकारी दिनुभयो । घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्धक्कसँग सुनका गहना खोजेर लगेको खरेलले बताउनु भयो।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।