काठमाडौं := संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन्।
बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सृजना भएको भन्दै उनले बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए ।
बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ। मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन्।




















