सरकारसँग धेरै माग नराख्नुहोस्, गठबन्धनमा काम गर्न सजिलो छैन: प्रधानमन्त्री देउवा।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो ।

उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ। नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘यो सरकार कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् ।

बजेटमा धेरै विषय समेटिएको छ, नसमेटिएका विषयलाई विस्तारै पूरा गर्दै जान्छौँ । सबै कुरा एकैचोटि पूरा हुँदैन ।’ प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकार र आवश्यक सुविधा पूरा गराउने मामिलामा भने सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोभिड महामारीले देशको उद्योग धन्दालगायत सम्पूर्ण कुरामा त्यसको प्रभाव पारेको पनि उहाँले बताउनुभयो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।