काठमाडौं:= एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
मुख्य ११ खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ । नियमित कप्तान किरण चेम्जोङ बिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुनेछैन । किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाउनुभएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो ।
दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।




















