एनआरएनएले विश्वभरका नेपाली स्वास्थ्यकर्मी अष्ट्रेलियामा भेला गर्दै।

लण्डन:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले विश्वका एक सयभन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताउनुभयो ।

एनआरएनए-अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ। समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ ।