काठमाडौं:= स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् ।
यसै सेरोफेरोमा पाँच दलीय सत्ता गठबन्धन भने अझै मजबुद भएर मात्रै ओलीलाई परास्त गर्न सकिने निष्कर्षमा पुगेको छ ।११ जेठमा ओली र गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्यो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउनु हुन्छ।‘राजनीतिक दलका नेताहरूबीच छलफल नहुनु नराम्रो होइन’, उहाँले भन्नुभयो, ‘तर, राजनीतिक एजेन्डाकेन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’
यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग असन्तुष्ट हुनुहुन्छ । असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए ।
तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ–नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।
निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहनु भएको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अथ्र्याएका छन् ।
देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्घीय निर्वाचनमा सँगै हुने बताउनु भयो । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्न नहुने उहाँको धारणा छ ।
‘स्थानीय तह निर्वाचनमा छिटपुट ठाउँमा बाहेक राम्रो नजिता आयो । अब गाउँ–नगर र जिसस निर्वाचनमा पनि तालमेल गर्ने क्रममा छौँ’, आङ्देम्बेले भन्नुभयो, ‘हामी अब प्रदेश र सङ्घीय निर्वाचनमा तालमेल गर्छौं ।’उहाँले ओली र यादवको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भयो ।
‘निर्वाचनले एमाले कमजोर भएको छ । यस्तो अवस्थामा सहकार्यका लागि आग्रह गर्ने त भइहाल्छ नि । कांग्रेस, एमालेकै हालतमा भए कांग्रेसले पनि अन्य दलसँग सहकार्यको प्रस्ताव राख्नसक्थ्यो । त्यही भएर ओलीजी र उपेन्द्रजीको भेट ठूलो कुरा होइन’, उहाँले भन्नुभयो, ‘यदि अगल भए त घाटा जसपालाई नै हुन्छ ।’
गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताउनु हुन्छ । उहाँका अनुसार गठबन्धन आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्मै जान्छ । तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताउनु भयो ।
‘संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता राजनीतिक उपलब्धि रक्षा गर्न यो गठबन्धन बनेको हो’, गजुरेलले भन्नुभयो, ‘उपेन्द्रजीको पार्टी अलग हुँदैन । हिजो भएको निर्णयले पनि त्यसको पुष्टि गर्छ । तर, यदि अलग भयो भने पनि सत्ता गठबन्धन भने ढल्दैन।’
यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो। अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उहाँको पार्टीका उम्मेदवार लालकिशोर साह पराजित हुनु हो ।
अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न जानुभएको हो । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताउनु भयो ।
यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उहाँको भनाइ छ ।‘निर्वाचनबाट कमजोर बनेको छ । बालुवाटारदेखि बालकोट पुग्नुपरेको छ । यस्तो अवस्थामा सहकार्य गरौँ भनेका हुन्’, उहाँले भन्नुभयाे, तर, सहकार्य हुँदैन ।’
एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आउनु भएको छ ।गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ । तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यसकै सङ्केत गरेको छ ।




















