काठमाडौं:= तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको जनाएको छ ।
सोमबार राति यो समाचार तयार पार्ने बेलासम्म मृतकमध्ये १० जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । ‘शवहरू त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमको लागि लगिएको छ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बाँकी ११ वटा शव प्रतिकूल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एकजनाको शव खोजी गरिरहेको छ । त्यस्तै, संकलित शवको पोष्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।
आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन भएको थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिमपटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।
थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो । जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा हुनुहुन्थ्यो ।
प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।
संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।




















