आईपीएल टी-२० क्रिकेट: राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले गर्यो फाइनलमा प्रवेश।

एजेन्सी (मुम्बई):= इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट अन्तर्गत हिजो मंगलबार सम्पन्न पहिलो क्वालिफायर्स खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेल गुजरातले राजस्थानमाथि ७ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाउँदा कप्तान सञ्जु सामसनले ४७ रन बनाए। त्यस्तै देबदत्त पार्डिकलले २८ रन बनाए। बलिङतर्फ गुजरातका मोहम्मद शमी, यश डायल, रबि श्रीनिवासन् साइ किशोर र हार्दिक पाण्ड्याले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातलाई लक्ष्यसम्म पुर्‍याउन डेभिड मिलरले अविजित ६८ रनको योगदान दिँदा कप्तान हार्दिक पाण्ड्याले अविजित ४० रनको योगदान दिए। त्यस्तै म्याथ्यु वेड र शुभमन गिलले समान ३५ रन बनाए। बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकोइले समान १ विकेट लिएका थिए।

जितसँगै गुजरातले फाइनलमा स्थान बनाएको छ भने राजस्थानले दोस्रो क्वालिफायर्स खेल्नेछ। बुधवार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जाइन्टबीच इलिमिनेटरको खेल हुनेछ। जसमा जित निकाल्ने टोलीले राजस्थानसँग फाइनलका लागि क्वालिफायर्स खेल्नेछ।