स्थानीय तह निर्वाचनमा चार नयाँ दलको प्रवेश, नागरिक उन्मुक्ति पार्टीको अनपेक्षित जीत।

[ अनिल क्षेत्री ] 

काठमाडौं:= वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । आइतबार अबेरसम्म पाँच महानगरपालिकासहित तीन दर्जन स्थानीय तहको परिणाम आउन बाँकी छ । आइतबारसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दास्रो स्थानमा रहेका छन् ।

मत परिणाम अन्तिम चरणमा पुगिसकेकोले पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको स्थान परिवर्तन हुने सम्भावना छैन । यो स्थानीय तह निर्वाचनले राजनीतिक दलहरूको समीकरण परिवर्तन भएको छ भने केही नयाँ दलहरूको स्थानीय तहमा उदय भएको छ ।

यो चुनावमार्फत स्थानीय तहमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र रविन्द्र मिश्रको विवेकशील साझा पार्टी स्थानीय तहमा उदय भएका छन् । यीमध्ये तीन पार्टी अस्तित्व रक्षा गर्न सफल भए पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी भने अनपेक्षित परिणाम ल्याउन सफल भएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं.१ मा फराकिलो मतान्तरले विजयी हुनुभएका रेशम चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टीको गठन गर्नुभएको हो।

२०७२ सालमा टीकापुर घटनामा संलग्नता पुष्टि भएपछि अहिले पनि जेलजीवन बिताइरहनुभएको छ । सोही घटनाका अभियुक्त चौधरीले फरार रहेकै अवस्थामा पनि २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जित्नुभएको थियो । आफू जेलमै रहेको अवस्थामा पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ मध्ये चार स्थानीय तह जितेर ठूला राजनीतिक दललाई चक्मा दिएको छ।

चौधरीको पार्टी कैलालीमा सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ । चौधरीको पार्टीले टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिका जित्दा स्थानीय तह निर्वाचनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तीनवटा स्थानीय तह मात्र जितेको छ ।

कुनै बेला देश विखण्डनको नाराले देशै तरंंगित बनाउनुभएका सिके राउतको पार्टीले सप्तरीका हनुमान नगरी कंकालिनी नगरपालिका र बालन-विहुल गाउँपालिका गरी दुई स्थानीय तह जितेको छ । मधेशवादी पार्टीबाट लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री हृदयेश त्रिपाठीले पछिल्लो समय ‘जनता प्रगतिशील पार्टी’ नामक दल खोल्नुभएको थियो ।

सो पार्टीले रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जित्दै अस्तित्व जोगाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्तिको हुँकार दिएर उदाएको विवेकशील साझा पार्टीले यो निर्वाचनमा बाराको फेटा गाउँपालिका जितेर अस्तित्व जोगाएको छ । विवेकशील साझाका उम्मेदवार अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साहले जित निकालेका छन् ।

१३ दलको मात्र अस्तित्व

२०७२ साल असोजमा संविधानसभाबाट जारी संविधानअनुसार दोस्रोपटक भएको स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये चुनावमा जितका आधारमा १३ वटा दल अस्तित्वमा देखिएका छन् । दर्ता भएकामध्ये १३ दलले स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) जितेर अस्तित्व राखेका छन् ।

१३ दलमा क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । यस्तै, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी र जनप्रगतिशील पार्टीले पनि चुनाव जितेर स्थानीय तहमा अस्तित्व राखेका छन् । आइतबारसम्म ११ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनले के पायो ? के गुमायो ?

स्थानीय तहको सम्पूर्ण नतिजा आइसक्न बाँकी रहे पनि नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, जसपा चौथो र एकीकृत समाजवादी पाँचाँै स्थानमा रहने लगभग निश्चित देखिन्छ । चुनावले राजनीतिक समीकरण र शक्ति सन्तुलन देखाइसकेको छ ।

स्थानीय तह निर्वाचन मुख्यगरी नेपाली कांग्रेस नेतृत्वकोे पाँच दलीय सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नेतृत्वमा विभिन्न सात दल सम्मिलित गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । विशेष गरी सत्तारूढ पाँच दलीय गठबन्धनमा चुनावी तालमेल सफल भयो कि असफल भन्ने विषयमा अनौपचारिक बहस सुरु हुन थालेको छ ।

स्थानीय तह निर्वाचनबाट प्रतिपक्ष दल एमालेलाई साइजमा ल्याउने उद्देश्यले देशभर चुनावी तालमेल गर्ने निर्णय गरे पनि सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले ७५३ मध्ये करिब एकतिहाइ पालिकामा मात्र चुनावी तालमेल गर्न सफल भए ।

तर, व्यवस्थापन कमजोर बन्दा तालमेल गरेका पालिकामा गठबन्धनले सोचेअनुसार सफलता पाउन सकेन । पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेलाई कमजोर बनाउनु रहे पनि सोचेअनुसार सफलता पाउन सकेन । कतिपय पालिकामा नेकपा एमालेका उम्मेदवारले गठबन्धनका संयुक्त उम्मेदवारलाई पराजित गरेको छ ।

तर, चुनावी तालमेलकै कारण लामो समयदेखि एमालेको गढको रूपमा रहेका कतिपय पालिकामा सत्ता गठबन्धन एमालेको विरासत भत्काउन भने सफल भएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस २०४९ सालको स्थानीय तह निर्वाचनपछि पहिलोपटक स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भयो ।

सत्तारूढ दलका घटकसँग चुनावी तालमेल गरेरै कांग्रेसले ३० वर्षदेखि एमालेको किल्लाको रूपमा रहेको बुटवल, इटहरी उपमहानगरपालिका र कीर्तिपुर, कागेश्वरी महनोहरा, बिहादी लगायतका पालिकामा एमालेको गढ भत्काउन सफल भयो ।

गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले बाराको जितपुर सिमरा उपमहानगरपालिका जस्तो एमालेको किल्ला भत्काउन सफल भयो भने गत भदौमा मात्र एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीले गठबन्धनकै कारण पोखरा र हेटौँडा उपमहानगर जस्तो एमालेको किल्ला तोड्न सफल भएको छ ।

गठबन्धनकै कारण दोलखा, रामेछाप, ओखलढुंगा, जुम्ला लगायतका जिल्लामा एमालेले हात धुनुपरेको छ । सत्तारूढ गठबन्धनकै घटक जनता समाजवादी पार्टीलाई भने चुनावी तालमेलको फाइदा देखिएन । एक्लै लड्दा पनि बलियो दलको रूपमा देखिने गरेको समाजवादी यसपटकको चुनावमा मधेशमै कमजोर देखिएको छ ।

परिणाम सोचेअनुसार नआएपछि जनता समाजवादी र एकीकृत समाजवादीका कतिपय नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाइसक्नु भएको छ । गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले विगतमा आफ्नो पकडमा रहेका पालिकालाई निरन्तरता दिए पनि गठबन्धनबाट फाइदा लिएर आफ्नो प्रभाव विस्तार गर्न सफल भएन ।

तालमेल गरेर चुनावी मैदानमा गए पनि गठबन्धनले घोराही, कलैया लगायतका पालिकामा एमालेको गढ भत्काउन सकेन । समग्रमा हेर्दा पाँच दलीय सत्तारूढ गठबन्धनले जुन उद्देश्यका साथ चुनावी तालमेल गरेको थियो, त्यो उद्देश्यमा गठबन्धन २५ प्रतिशत मात्र सफल भएको देखिन्छ ।

यी हुन् राजनीतिक दललाई पछारेर जित निकालेका स्वतन्त्र उम्मेदवार

यसपटकको स्थानीय तह चुनावमा स्वतन्त्रको लहर नै चल्यो । आइतबार सम्मको नतिजा हेर्दा ७५३ स्थानीय तहमध्ये ११ स्थानीय तहको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार दुई उपमहानगरपालिका, तीन नगरपालिका प्रमुखमा र ६ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार धरान उपमहानगरपालिकोको प्रमुखमा हर्क साम्पाङ (राई), धनगढी उपमहानगरपालिकाको प्रमुखमा गोपाल हमाल विजयी हुनुभएको छ । यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा प्रह्लादकुमार बुढाथोकी, जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा राजुसिंह कठायत, कालिकोटको खाँडाचक्र नगरपालिका प्रमुखमा कमलबहादुर शाहीले दलका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको छ ।

बैतडीको डिलासैनीमा सन्तोषप्रकाश जोशी, भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथकुमार कुलुङ, ओखलढुंगाको मानेभञ्ज्याङको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मोहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा प्यारीलाल शाही निर्वाचित हुनुभएको छ ।

स्वतन्त्रबाट महोत्तरीको बर्दिबास नगरपालिकाको उपप्रमुखमा तारा देवी, डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा पेम्मावाङछेन गुरुङ, मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा छिरिङ गुरुङ र बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुख रामबहादुर बोहरा निर्वाचित हुनुभएको छ ।