एजेन्सी := इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ ।
आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र मार्टिन ओडेगार्डले गोल गर्दा एभर्टनका डानी भान डि विकले एक गोल फर्काए ।
गोलको वर्षा भएको खेलको २७औं मिनेटमा गाब्रियल मार्टिनेलीको पेनाल्टी गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ३१औं मिनेटमा इडवार्ड एनकेइटाले गा्ल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डोनी भान डि विकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

५६औं मिनेटमा सेडरिक सोराएसले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो । ५९औं मिनेटमा गाब्रियलले तथा ८२औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सानदार जित दिलाए ।
यो जितसँगै ३८ खेलबाट ६९ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलले अर्काे सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ । पराजित एभर्टन ३९ अंक जोडेर १६औं स्थानमा रह्यो ।
यस्तै लन्डन क्लब चेल्सीले घरेलु मैदानमा वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले गोल गरे । वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काए । यो जितसँगै चेल्सीले ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । वाट्फोर्ड २३ अंक जोडेर १९औं स्थानमा रह्यो ।




















