एजेन्सी := भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री आगजनी र स्थानीय जनताको आक्रमणबाट बच्न नौसेना आधार शिविरमा पुगेका छन् । राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ ।
सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएको बीबीसीेले जनाएको छ । प्रदर्शनकारीहरुले राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइसकेको छ । गोटाबय राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीमाथि सरकार समर्थकहरूले आक्रमण गरेपछि त्यहाँ हिंसा भएको थियो ।
विपक्षी राजनीतिज्ञहरूले सेनालाई सत्तामा कब्जा गर्ने बहानाका निम्ति हिंसाको मञ्चन हुन सक्ने चेतावनी दिएका छन् ।सडकमा सशस्त्र सवारीसाधनसहित ठूलो सङ्ख्यामा सेनाको उपस्थितिले सम्भावित सैन्य विद्रोहको हल्ला फैलिएको छ। तर सेनाले त्यस्तो कुनै पनि कदम चाल्ने योजना नभएको भन्दै उक्त आरोपलाई अस्वीकार गरेको छ ।




















