सागमा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिइन्।

काठमाडौं := एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।

प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए ।

वरिष्ठ सई बरालका सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले जानकारी दिए ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन्।

नेपाल भारोत्तोलन संघका महासचिव एवं पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताले सोमबार प्रशिक्षक महर्जनको घरमा भोज हुँदा सञ्जुसँग भेट भएको र उनलाई आफूले सामान्य अवस्थामा पाएको जानकारी दिए। घटना थाहा पाएपछि आफू महर्जनको घर पुगेको गुप्ताले बताए । वरिष्ठ सई बरालका अनुसार सञ्जुको काका काकीको रोहबरमा मुजुल्का उठाउन काम भइरहेको छ ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।