रेशम चौधरीलगायतका थारू नेता,जनताहरूलाई जेल हाल्नुपर्ने कुनै कारणनै छैन: केपी ओली।

कैलाली := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारू नेताहरूलाई थुनेर राखिएको बताउनुभयो ।

ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दुःखी भएको समेत बताउनुभयो । ‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटना दुःखद हो । को मारिए के मारिए भन्ने होइन, जो मारिए पनि नेपाली मारिए । त्यो राम्रो भएन,’ ओलीले भन्नुभयो, ‘टीकापुर घटनाले गर्दा यहाँका थारू नेताहरू अहिले पनि जेलमा छन् ।

सरकारले हुँदै नभएको मुद्दा लगाएर थारू नेताहरूलाई थुनेर राखेको छ । रेशम चौधरी र थारू नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन ।’ ओलीले आफू सरकारमा रहेका बेला थारू कल्याणकारी समितिसँग ६ बुँदे सहमतिसमेत गरेको स्मरण गर्नुभयो । तर, सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पार्नुभयो ।

उहाँले परस्पर घृणा फैलाउने काम राम्रो नभएको बताउनुभयो । ‘एउटाले एक प्रकारको र अर्कोले अर्को प्रकारको नारा दिने द्वन्द्व लगाउने काम एमालेले गर्दैन,’ उहाँले भन्नुभयो, ‘सामाजिक सद्भाव बिगार्ने काम एमालेले गर्दैन ।’ २०७२ सालमा कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो ।

जसमा प्रहरीका एसएसपीसहित आठ जनाको मृत्यु भएको थियो, भने कैयौं थारु समुदायको मानिसहरुको घरबारमा आगो लगाएर जलाइएको थियो।  थारु समुदायले यातना खेप्नु परेको थियो।