एजेन्सी := म्यानमार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेता आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ। गत साता सुनाइएको भ्रष्टाचार आरोपमा पाँच वर्षको सजायको विरूद्धमा सैनिक बलमा पदच्युत गरिएकी आङ सान सुकीले अपिल गरेकी थिइन्।
नोबेल पुरस्कार विजेता सुकीलाई नगद र सुनको घूस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उक्त फैसलाविरूद्ध सुकीको कानुनी टोलीले अपिल दायर गरेको थियो। सुकीलाई सैनिकविरूद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्ष जेल सजाय सुनाइएको छ। उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको हो।
७६ वर्षीया सुकीलाई सेनाविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइ सकिएको छ। यो अवधिमा सुकी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने बताइएको छ । उहाँलाई राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी धाँधली गरेको लगायतका थुप्रै आरोप लगाइएको छ ।
सुकीमाथि लागेको सबै आरोपमा उहाँ दोषी रहेको पाइएमा १ सय वर्षभन्दा बढी जेल सजाय हुनेछ । म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपमा कम्तीमा एक हजार ८ सय भन्दा बढी मानिस मारिएका छन् भने १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।




















