बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेपछि आयोगले फेरि सोध्यो अराजक अभिव्यक्ति दिने स्थापितलाई स्पष्टीकरण।

काठमाडौं := निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उमेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । गएको आइतबार उनले बोलेको विषयप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधिएको हो।

काठमाडौं महानगर प्रमुखका अर्का उमेदवार बालेन साहको विषयमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ…’ भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न भनेको छ ।

सोमबार जारी आयोगको पत्रमा भनिएको छ, “आचारसंहिता, २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२, जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड (प) अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरढण पेस गर्नुहुन निर्णायानुसार अनुरोध छ ।”

स्थापितले बोलेको विषय निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२ (प) अनुकूल नभएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

यसअघि पनि सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीकै बिचमा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा एकजना महिला प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अराजक अभिव्यक्तिप्रति पनि आयोगले स्पष्टीकरण सोधेको थियो।